माघ, २९ काठमाडौं ।‘रत्नपार्क, त्रिपुरेश्वर, कालीमाटी’ कलंकीबाट हुइँकिँदै आएको गाडी सोल्टी मोडको साइडमा रोकियो । मान्छे खचाखच थिए । ‘जहाँसम्म जान दियो त्यहीँसम्म जान्छ । ल बसौँ है बसौँ । गाडी चढ्यो कि २० रुपैयाँ’ सहचालक बोल्यो । सहचालकको बोलीमा मौन समर्थन जनाउँदै मानिसहरू ओइरिए । पहिल्यैदेखि सिट प्याक गाडीमा अटे जति चढे । गन्तव्य कहाँ हो ? गाडीले कहाँसम्म लैजान्छ ? अह ! अत्तोपत्तो थिएन । नभन्दै चढेको पाँच मिनेटमै ट्राफिकले सिटी सुनियो ।
गाडी कालीमाटीबाट अघि बढेन । २० रुपैयाँ तिरेर मानिसहरू ओर्लिए । अनि सुरु भयो पैदल यात्रा । बाटोमा देखिए रंगीविरंगी झन्डा र ब्यानर बोकेकाहरू ।
लाग्थ्यो कसैको जन्ती जान हिँडेका होलान् । नभए मलामी त पक्का । सुट बुट र बाजागाजासहितका झाँकी, नाराबाजी र प्रदर्शन । लाग्थ्यो आम मान्छेले दुःख पाएकामा उनीहरू हर्ष बढाइ गरिरहेका छन् ।बाटोभरि पैदल हिँड्नेको ताती । हिउँदको चिसोमा पनि पसिना निकालेर हिँडिरहेका उनीहरूमा आक्रोश थियो, कुण्ठा थियो । तर पनि गन्तव्यमा पुग्नै पर्ने बाध्यता थियो । एकनासले हिँडिरहेका थिए । घरी सडकतिर हेर्थे, केही बेर रोकिन्थे । फेरि लम्किन्थे आफ्नै गन्तव्यमा ।
फुटपाथमा थरिथरिका मानिसहरू लाममा थिए । निराश निरर्थक गन्तव्य खोजिरहेका थिए । लम्किरहेका थिए । पुग्नु कहाँ थियो थाहा छैन । त्यही हुलमा भेटिए उमेरले ६० कटेका एक जना बा । सानी नानीको औला समातेर हिँडिरहेका उनी पुग्नुपर्ने थापाथली रहेछ । बल्ल कालीमाटी चोक कटेको थियो । नानीले जिद्दी गर्थिन् । घरी बोक्थे, घरी हिँडाउँथे ।
बुधवार नेकपा दाहाल–नेपाल समूहले गरेको शक्ति प्रदर्शनको मारमा परे उनी । समूहको शक्ति प्रदर्शनमा निरीह बनेर हिँड्ने उनी एक्लै त थिएनन् । सयौँको सङ्ख्यामा मानिसहरू हिँडिरहेका थिए । प्रदर्शनका कारण काठमाडौँको ट्राफिक अस्तव्यस्त बन्यो । मानिसहरू आक्रोशित थिए ।
बाको आक्रोश कम्ताको थिएन । कतिपय यहाँ लेख्नै नमिल्ने शब्दमा उनले गाली गरे । हिँड्दा हिँड्दै उनी बोल्दै गए, ‘जनतालाई दुःख दिन बाहेक जानेकै के छन् ? सत्ताका लागि जे पनि गर्छन्,’ आक्रोश पोख्दै भने, ‘अहिले फेरि कसले के भाग पाएन । जनताले दुःख पाए ।’
उनको आक्रोशमा एउटा गम्भीर प्रश्न पनि थियो । ‘जनताले फेरि किन यिनैलाई भोट दिन्छन् ।’ यति भनेर उनी अघि बढे । हो नेपाली जनताले वर्षौँदेखि यिनैलाई मत दिए । बहुमत दिए । यतिले पनि पुगेन भने करिब दुई तिहाइ पनि दिए । तर, के पाए ? प्रश्न मात्रै होइन उत्तर पनि जटिल छ । दुःख पाएकै छन् । सास्ती पाएकै छन् । दैनिक हजारौँको सङ्ख्यामा बिदेसिने उडेकै छन् । आस बोकेर बिदेसिएकाहरू लास बनेर फर्किएकै छन् । सिटामोल नपाएर ज्यान गुमाउन छुटेको छैन । गाँस र बाँसको अभावमा टरेका छैन ।
आम मान्छेले सास्ती पाएको बुधवार मात्रै हो ? अह ! होइन, यहाँ हरेक दिन सास्ती पाइरहेका छन् । झन्डै एक वर्ष कोभिडले सास्ती दियो । नागरिकले पाउनुसम्म दुःख पाए । कोसौँ हिँडेर गन्तव्यमा पुगे । कतिले खानै नपाइ ज्यान गुमाए । कतिले आत्मदाह को बाटो रोजे । सरकार, सत्तासीन दल कुर्सीकै लडाइँमा तल्लीन रह्यो ।
बिचमा पनि सास्ती दिइरह्यो । कहिले गुठी विधेयक ल्याएर त कहिले कहिले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने विधेयक ल्याएर मान्छे सडकमा आए ।
पुस ५ मा प्रतिनिधि सभा विघटनपछि त दैनिक सास्ती । कोभिडले बल्लतल्ल तङरिन थालेका जनताले दैनिक सास्ती पाइरहेका छन् । पक्ष र विपक्षमा गरिने जुलुसको मारमा सोझा जनता परेका छन् । कहिले प्रतिगमनको विरोधमा त कहिले पक्षमा । प्रतिगमनको विरोधमा नेपाल बन्दको समेत सामना गरे ।
साँच्चै सत्तासीन दलको यो रमिता देखेर जनताले के भन्दा हुन ? के सोच्दा हुन् ? शक्ति प्रदर्शनका नाममा सडकमा हिँड्नेहरूलाई लाग्दो हो नेकपाको मलामी बनियो । दुई तिहाइको मलामी बनियो । हुँदाखाँदाको करिब दुई तिहाइ मत पाएका प्रधानमन्त्री ओलीले किन प्रतिनिधि सभा विघटन गरे । के अब दुई तिहाइ जीवित छ ? अह ! छैन ।
त्यसो भए पक्ष र विपक्षमा हुने जुलुसका कारण सास्ती पाएर हिँड्नेहरू दुई तिहाइको मलामी गए ? हुँदाखाँदाको शक्तिशाली पार्टी विघटन गरेर किन छुट्टाछुट्टै सडकमा छन् ? के नेकपा म-यो ? हुनसक्छ । मानिसहरू त्यसकै मलामीमा सडकमा हिँडेका हुन कि ?
विघटनको विपक्षमा रहेकाहरूले संविधानको रक्षाका निम्ति प्रदर्शन गर्नु परेको बताइरहेका छन् । के संविधान गम्भीर बिरामी छ ? के संविधान सङ्कटमा छ ? लोकतन्त्रको चीरहरण भएको बताइरहेको छन् ? के लोकतन्त्र म-यो ? होइन भने मानिसहरू किन दैनिक मलामी जान बाध्य छन् ।
काठमाडौँका सडकमा दैनिक कैयौं किलोमिटर हिँडेर गन्तव्यमा पुग्नेहरूलाई लाग्दो हो कम्युनिस्ट रहेनन् । हो वास्तवमा जनतालाई दुःख दिनेहरू कम्युनिस्ट हुन सक्दैनन् । यिनीहरू खोल ओढेका कम्युनिस्ट मात्रै हुन् । वास्तविक कम्युनिस्ट छैनन्। मानिसहरू त्यसेको मलामी हिँडिरहेका छन् ।