संवैधानिक आयोगमा ३२ जनाले राष्ट्रपति कार्यालयमा शपथ लिए...

image
बुधबार, माघ २१ २०७७

माघ,२१ काठमाडौं । विभिन्न संवैधानिक आयोगमा सिफारिस भएकाहरुले शपथ लिएका छन् ।बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका हुन्।

त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराएका छन् ।सिफारिस भएका ४५ मध्ये ३२ जना पदाधिकारीले शपथ लिएका छन् । संवैधानिक परिषदले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुनुवाइ समितिमा प्रस्ताव नै नगरी शपथ गरिएको भन्दै बिरोध भएको छ ।

गैरसंवैधानिक रूपमा नियुक्तिका आधारमा हुने शपथ रोक्न माग राख्दै मंगलबार मात्र सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गरेका थिए । सो रिट बुधबार सर्वोच्चको इजलासमा पेस हुने र आदेश आउन सक्ने भएकाले बिहानै शपथ खुवाएको बुझिएको छ ।यसमा गत आइतबार सभामुख अग्निप्रसाद सापकोटाले पत्र पठाएर विमति राखिसकेका छन् ।

सरकारले गएको पुस ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि निर्णय गर्न सक्ने व्यवस्था गरेर संवैधानिक निकायमा नियुक्ति गरेको थियो । बैठकमा परिषद् सदस्यसमेत रहेका विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा उपस्थित थिएनन् ।

परिषद् बैठक बस्न र आफ्नो पक्षमा निर्णय हुन नसक्ने भएपछि परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर अनकुल बनाएका थिए ।